गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद औषधालय

बाग्लुङ – ०२, गण्डकी प्रदेश

स्तनपान: आमा र शिशुबीच स्नेह प्रगाढ गर्ने माध्यम पनि हो



डा. सरोज कुमार राय

प्रमुख धौलागिरी आयुर्वेद औषधालय


स्तनपान गर्ने, गराउने चलन संसारमा स्तनधारी जीवहरुको विकास भए देखि नै हुँदै आएको छ | मानिस मात्र हैन, प्रत्येक स्तनधारी जीवहरूले आफ्नो वच्चालाई स्तनपान गराउने गेरको छ | वच्चालाई पोषण दिने मात्र हैन, आमा र वाच्चाबिच स्नेह प्रगाढ गर्ने कडी हो यो स्तनपान | यहि प्रगाढ र अतुलनीय स्नेहले आमा भोकै भएपनि शिशुको पेट कहिल्यै भोकै राख्दैन आफु जीवित हुँदासम्म | स्तनपानको प्रचलन मानिसमा पनि आदिकाल देखि नै हुनुका साथै यो प्राकृतिक र स्वस्थ्यकर पनि छ तर विश्वमा आएका अनेक परिवर्तनहरुका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ | त्यसैले स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक वर्ष अगस्त महिनाको १-७ सम्म विश्व स्तनपान सप्ताह मनाइने गरिएको छ | यसको सुरुआत विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा सन् १९९० देखि भएको हो।नेपाल  बहुसूचक सर्वेक्षण २०१९ अनुसार शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने आमाहरुको संख्या ४१.७ प्रतिशत मात्र छ भने पूर्ण स्तनपान गराउने आमाहरु ६२.१ प्रतिशत छन्। त्यस्तै ९५.५% शिशुहरू १ वर्षसम्म लगातार र ८७.६% शिशुहरू २ वर्षसम्म लगातार स्तनपान गर्दछन् | साथै कहिल्यै पनि स्तनपान नगराएको संख्या १% छ |

बच्चाहरुलाई ६ महिना सम्म केवल आमाको स्तनपान मात्र गराउनु पर्छ, यसलाई पूर्ण स्तनपान भनिन्छ | शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार पनि हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई छ । परिवार र राज्यले आमा र शिशुको हक सुनिश्चित गर्नु पर्दछ ।आमाको स्तनपान शिशुको लागी अमृत समान नै हो | स्तनपानले वच्चालाई फाइदा गर्ने मात्र नभई आमाको लागी पनि निकै नै महत्वपूर्ण फाइदाजनक रहेको कुरा बिभिन्न अध्ययन हरुले पुष्टि गरिसकेको छ |

बालबालिकाको लागि स्तनपानको महत्व:

-आमाको पहेलो विगौती दुध शिशुका लागी खोप हो, यसले वच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउछ |

-आमाको दूध बालबालिकाको लागि अमृत समान हो, यसले बालबालिकाको जीवन रक्षा गर्छ ।

-यो सधैँ सफा र सुरक्षित हुन्छ ।

-यो संधै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।

-यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरु हुन्छ ।

-यसमा झाडापखाला तथा श्वास प्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ ।

– यसले एलर्जी विरुद्ध रक्षा गर्छ ।

-बालबालिकाको लागि यो पूर्ण खाना हो, यसमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु प्रर्याप्त मात्रामा हुन्छ ।

– यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ ।

– यो बालबालिकाले सजिलै पचाउन सक्छ, यसमा रहेका पोषक तत्वहरु शरीरले राम्ररी सोस्न सक्छ ।

– दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न दिदैन ।

– यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांशपेशिकाको विकास गर्न सहयोग गर्छ ।

– स्तनपान गराएको बच्चाहरुको दिमागी क्षमता स्तनपान नगराएको बच्चाहरुभन्दा तीक्ष्ण हुने अध्ययनहरुले प्रमाणित गरेका छन |

– स्तनपान गर्न नपाएका शिशुहरू पछि गएर झगडालु स्वाभावको हुने, अरुसंग घुलमिल गर्न नसक्ने र अपराधिक कार्यमा लाग्ने सम्भावना बढी हुने कुरा पनि अध्ययनहरुबाट पत्ता लागेको छ |

आमाको लागि स्तनपानको महत्व:

-बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिटै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँदछ ।

-बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।

-आमाको कामको भारलाई घटाउँदछ । पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन ।

– आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ ।

-यो सधैं सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ ।

– यो कम खर्चिलो हुन्छ ।

-आमा र बालबालिका बीचको माया ममता बढ्छ, बालबालिकाले आफुलाई सुरक्षित महसुश गर्छ ।

– महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ ।

– महिनाबारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रुपमा काम गर्छ ।

Download: स्तनपान: आमा र शिशुबीच स्नेह प्रगाढ गर्ने माध्यम पनि हो